गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिका कार्यक्रम बाटो खनेजस्तो र पुल बनाएजस्तो योजना सकिने बित्तिकै नतिजा देखिने खालको नहुने बताउनु भएको छ । गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समितिमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै दिनुहुै उहाँले यस्तो बताउनु भएको हो ।
‘किसानले १ सिजनमा बाली लगाउँछन्, अर्को बाली नलगाउने बेलासम्म खेतबारी खाली हुन्छ, बाटो, पुलजस्तो देखिने विकास कृषिमा हुँदैन ।’ मन्त्री थापामगरले भन्नुभयो ।
उहाँले अनुदानबिना व्यावसायिक कृषिको कल्पनै गर्न नसकिने बताउनुभयो । ‘किसानलाई अनुदान नदिए कसरी काम गर्न सक्छ ? अनुदानको विषय उठान गर्दा किसानमाथि पो आक्रमण भइरहेको छ कि भन्नेमा ध्यान दिनुपर्छ ।’ उहाँले भन्नुभयो । सांसदहरुले मोडेल फार्मको कार्यविधिमा प्रश्न उठाएको भन्दै अहिले पोहोरको जस्तो समस्या नरहेको मन्त्री थापाले स्पस्ट पार्नुभयो ।
यो वर्ष पोहोरकोजस्तो ठूलो रकम अनुदान नदिइने भन्दै साना किसानलाई लक्ष्य गरी बढीमा ३ लाख रुपैयाँसम्म मात्र अनुदान दिन लागेको उहाँले जानकारी दिनुभयो । कार्यविधिले किसानलाई असजिलो बनायो भन्ने प्रश्नमा मन्त्री थापाले बैंकको चेक साटेजसरी पैसा पाएजस्तो नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कार्यविधिको आफ्नै प्रक्रिया छ, धेरै सजिलो बनाउँदा फेरि दुरुपयोग भन्ने आउला नि त ? कृषिको रकम दुरुपयोग भयो, अनुदानका नाममा वितरण गरियो भन्ने आरोप लागिरहने भन्दै उहाँले कृषि र पशु सेवा कार्यालयका प्रमुखहरुकै अगाडि छलफल भएकाले आफूलाई पनि उत्तर दिन सजिलो भएको धारणा राख्नुभयो।
उत्पादनमा आधारित अनुदान कसरी दिन सकिन्छ भन्ने बारेमा अभ्यास जरुरी रहेको भन्दै उहाँले किसानको बर्गीकरण गरी साना किसानलाई प्राथमिकताका बारेमा सोच्नु पर्ने बताउनुभयो।