गोरखा ३०, फागुन- नेत्र बिक्रम चन्द (बिप्लव) समुहका तनहुँ जिल्ला इन्चार्ज सहित २ जना गोरखामा पक्राउ परेका छन् । गोरखा नगरपालिका–९ लक्ष्मीबजार क्षेत्रबाट उनिहरुलाई बुधबार राति १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा रोल्पा सुनछहरी गाउँपालिका–६ घर भएका बिप्लव समुहका तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुन र तनहुँको बन्दिपुर गाउँपालिका– ५ बिप्लव समुहका कार्यकर्ता २१ बर्षका पर्वतबहादुर सेढाई रहेको उहाँले बताउनुभयो ।
प्रहरीसंग एक्कासी जम्काभेट भएपछि शंका लागेर सोधपुछ गर्दा बिप्लव समुहमा संलग्न भएको खुल्न आएको एसपी अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेको दुबै जना बिरुद्ध शान्ति बिरुद्धको अभियोगमा कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।