धादिङ – धादिङको गल्छी गाउँपालिका–६ बाहुन पलाङबाट बेहुली लिन गएको जन्ती रित्तै फर्कनु परेको छ । गजुरी–६, मिलनटारका ध्रुव सुवेदीले उमेर नपुगेकी छोरीको विवाह गर्न लागेकाले गाउँका महिला अधिकारकर्मीहरुले विवाह रोक्न प्रहरीलाई गरेपछि बेहुली लिन गएको करिब ३ सय जन्ती रित्तै फर्कनु परेको हो।
ध्रुवकी १८ वर्षीया छोरीको गल्छी गाउँपालिका–६, बाहुन पलाङका कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराजसँग विवाह हुँदै थियो । बेहुली लिन गजुरी जाँदै गरेको जन्तीको टोलीलाई प्रहरीले आदमघाटबाट फर्काएको थियो ।
बेहुलाका बावु कृष्ण अधिकारीले छोराको बिहेका लागि २ ओटा बससहित अरु गाडीमा झण्डै तीन सय जना जन्ती लिएर आउँदै गरेको खबर पाएपछि बैरेनी प्रहरीचौकी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीले विवाह रोकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिनुभयो ।
स्थानीय आमा समूहले उमेर नपुगेकोले विवाह नगरिदिन बारम्बार मौखिक अनुरोध गरे पनि नमाने पछि विवाह रोकिएको थियो । माइती पक्षलाई विवाह रोक्न आदेश दिएको प्रहरीले जन्तीलाई आदमघाटमा रहेको सशस्त्र प्रहरी बेसक्याम्पबाटै फर्काएको थियो ।