काठमाडौं, २८ फागुन । सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।
ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै मंगलबार साँझ विभाग घेराउ गरेका थिए । ट्याक्सी सञ्चालकहरुको दबावमा विभागले मंगलबार राती नै सूचना जारी गरेको हो ।

टुटल र पठाओ नामा उल्लेख नगरी जारी भएको सूचना कार्यान्वयन गरिएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् । विभागले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने स्पष्ट गरेको छ ।
२०७५ माघमा विभागले यस्तै कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए । त्यसपछि भएको साम्य भएको विषय गत मंसिरमा फेरि उठ्यो ।
विभागले मंसिरको ४ गते सूचना निकालेर टुटल र पठाओमा नमा उल्लेख नगरी सेवा बन्द गर्न भनेको थियो । त्यसपछि ट्राफिक प्रहरीले सडकमा टुल तथा पठाओका चालकलाई कारवाही थालेको थियो । विवाद चर्किएपछि यातायात मन्त्री बसन्त नेम्वाङले टुटल पठाओलाई नरोक्न निर्देशन दिएका थिए ।
फेरि बुधबार विभागले सार्वजनिक सूचना जारी गर्दै विभिन्न प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसारेको गुनासो आइरहेको भन्दै तुरुन्त त्यस्तो काम बन्द गर्न भनेको छ ।
सूचनामा यातायात व्यवस्था ऐनको दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।
कारवाही थाल्न माग
व्यवसायीहरुले लामो समयदेखि सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय सदस्य तथा लेखा समिति संयोजक विष्णु चौहान टुटल र पठाओमा नाममा निजी सवारीले भाडाका यात्रु बोकेकाले सरकारलाई कारवाहीका लागि दबाव दिइएको बताए ।
सरकारले टुटल पठाओ अवैधानिक भएको स्वीकार गरेको भन्दै कारवाही थालिहाल्नुपर्ने बताए । निजी सवारी साधन विभिन्न बाहनामा भाडामा प्रयोग हुने क्रम बढ्दै गए भविष्यमा सार्वजनिक यातायात क्षेत्र थप अस्तव्यस्त र भद्रगोल हुने उनको दावी छ ।
‘हामी सरकारले सिलबन्दी गरेको मिटरमा हिँडेका छौं, ४(४ महिनामा कर तिरेर रुट पर्मिट लिन्छौं, ६(६ महिनामा जाँचपास गर्छौं,’ उनले भने,’लाखौं खर्च गरेर किनेको ट्याक्सीको सेवालाई असर पर्ने गरी निजी सवारीले यात्रु बोक्न मिल्दैन ।’ onlinekhabar