काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार राष्ट्रिय सभागृहमा धुमधामका साथ मनाई एकिकरण प्रक्रिया गरि रहदा पूर्वमन्त्री सुनीलबहादुर थापा बहिस्कार गरेको गर्नु भएको छ । थापाले आफु नजिकको मालीगाउँस्थित आफ्नै निवासमा निकटस्थसँग बैठक गरि आफुलाई यो एकता प्रक्रिया मान्य नभएको बताउनु भएको हो ।
सुनीलबहादुर थापा राप्रपाका संस्थापक नेता स्व। सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ । उहाँले आफ्ना पिताको राजनीतिक लाइनमा अडिग रहने बताउँदै एकीकरण सभा बहिस्कार गर्नु भएको हो । राजतन्त्रको पक्षमा उभिँदै आएको कमल थापा नेतृत्वको पार्टीसँग एकता गर्ने पशुपति समशेरको निर्णय आफुलाई मान्य नभएको उहाँले जानकारी दिनुभयो । सुनीलले मंगलबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठक पनि बहिस्कार गर्नु भएको थियो ।
थापाले भन्नुभयो पशुपतिसमशेर राणाको नेतृत्वले गणतन्त्र र संघीयताको विरुद्धमा राजतन्त्रलाई स्वीकार गरेको हुनाले आफू एकीकरणमा सहभागी नभएको हो । सत्तामा रहेका केही नेताहरुको कमजोरीलाई देखाएर सिंगै व्यवस्थाको विरोध गर्न नमिल्ने थापाको भनाई थियो । सूर्यबहादुर थापाको नेतृत्वमा रहेको राप्रपाले गणतन्त्र र संघीयताको पक्ष लिँदै आएको थियो । सूर्यबहादुरको निधनपछि पनि राप्रपाले गणतन्त्र र संघीयतासहितको संविधानलाई स्वीकार गर्दै आएको थियो ।
आफ्नो बुबाले लिनुभएको अडानबाट राप्रपाको नेतृत्व विचलित भएको थापाले आरोप लगाउनुभयो । संविधान जारी गर्ने बेला आफू संविधानसभाको सदस्य भएको र सरकारको मन्त्रीका रूपमा संविधान जारी गर्ने काममा भूमिका खेलेको हुनाले आफूले गणतन्त्रलाई अस्वीकार गर्नु गर्न नसक्ने उहाँले बताउनु भयो ।
राजतन्त्रको लाइनमा असहमत हुने गणतन्त्र पक्षधर नेताहरु राप्रपाभित्र अरु पनि छन् थापा निकट श्रोतले भनेको छ । उहाँहरुका बीचमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको स्रोतले बताएको छ ।