मोरङ । मोरङको बिराटनगरमा अध्याधिक मदिरा सेवन गरी एक बृद्धले श्रीमतीको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१२ मलंगवामा ७२ वर्षीय परण ऋषिदेवले ७० वर्षीय श्रीमती सवुत्री ऋषिदेवलाई सिसौको चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ
वडा प्रहरी कार्यालय विराटनगरका अनुसार विगत ५ वर्षदेखि प्यारालाईसिस श्रीमति सवुत्रीलाई आपसी तनावका क्रममा कम्मरमा चिर्पटले प्रहार गरेका थिए।
दुवैवीच घरायसी विषयमा तनाव भएको हुन सक्ने बताएका वडा प्रहरी कार्यालय प्रहरीका प्रहरी नायब उपरिक्षक वेदप्रसाद गौतमले भने परणको प्रहारमा श्रीमतीको मृत्यु भएको जानकारी दिनुभयो ।परणले अत्याधिक मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो। दुवैबीच झगडा हुदाँ परण मादक पदार्थ सेवनका क्रममा रहेको अनुमान प्रहरीको छ।
स्थानियका अनुसार दुवैबीच दिउँसो झगडा भएको थियो। यद्धपी, प्रहरीलाई बेलुकामात्र खबर पुगेको थियो। सुकुम्बासी जीवन विताइरहेको ऋषिदेव परिवारको तीन छोरा रहेका छन्। तीन मध्ये दुई छोरा बोल्न सक्दैनन भने, अर्का एकले ज्यालामजदुरीबाट परिवारको खर्च चलाउदै आएका थिए।
हत्यामा संलग्न परणलाई पक्राउ गर्दै सवुत्रीको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरिक्षक गौतमले जानकारी दिनुभयो ।