काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएपछि त्रिवि शिक्षण अस्पतालले उहाँलाई बुधवारसम्ममा डिस्चार्ज गर्ने तयारी गरेको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण टोलीका प्रमुख डा.प्रेमराज ज्ञवालीले बुधवारसम्ममा डिस्चार्ज गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
‘‘नर्मल्ली बुधवार प्रत्यारोपण गरेका बिरामीलाई हामी सोमवार डिस्चार्ज गर्ने गरेका छौं, भोलि या पर्सीसम्ममा प्रधानमन्त्रीज्यू डिस्चार्ज हुनुहुन्छ,’ डा. ज्ञवालीले भन्नुभयो । २१ गते बुधवार ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा थप जोखिमको सम्भावना नभएकाले डिस्चार्जको तयारी भएको डा.ज्ञवालीले बताउनुभयो ।
प्रधानमन्त्रीलाई मिर्गौला दिएकी भाञ्जीलाई पनि एकसाथ डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।‘‘डोनर भाञ्जीको स्वास्थ्य पनि ठीक छ, प्रधानमन्त्रीसँगै डिस्चार्ज हुने चाहना राख्नुभएको छ, त्यसैले सँगै डिस्चार्ज गर्दैछौं,’ डा. ज्ञवालीले भन्नुभयो ।
प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार दिने र सामान्य हिँडडुल गराउने गरिएको अस्पतालले आइतवार विज्ञप्तिमार्फ जनाएको थियो ।