गोरखा २५, फागुन – सामुदायिक बिकास कोष बोेर्लाङको १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ स्थित ठुलौचौरमा भएको साधारणसभाले संस्थाको आगामी योजना तथा कार्यक्रमका बिषयमा बिभिन्न निर्णय लिएको हो । साविकको बोर्लाङ गा.वि.समा कृषि, पशुपालन लगायतका न्युन आर्थिक अबस्था भएका समुदायको आर्थिक आयआर्जन बृद्धिका लागि कोषले काम गर्दै आएको वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

‘कोषले बिशेषगरि तरकारीको पकेट क्षेत्र, पशुपालनका लागि कृषकहरुलाई बिना व्याज ऋण उपलब्ध गराउदै आएको छ, उहाँले भन्नुभयो, ‘त्यस बाहेक गोठ सुधार, कार्यक्रम अन्य तरकारी खेतीका लागि ऋण सहयोग उपलब्ध गराउदै आएको छ । ’ कोषले कोषमा आबद्ध समुहका सदस्यहरुलाई समुह जिम्मेवारीमा बिना ब्याज ऋण उपलब्ध गराउने गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘अहिले कोषले बढिमा ५ महिनाका लागि बिना व्याज उपलब्ध गराउने गरेको छ, उहाँले भन्नुभयो, ‘समुहका सदस्यले ऋण लिएपछि अनिबार्य रुपमा आयआर्जन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ ।’

साविकका बोर्लाङ गा.वि.स हाल भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ र ८ का गरि हाल कोषमा ३३ वटा समुहका गरी कुल ८ सय ६८ जना सदस्यहरु आबद्ध रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ‘कोषमा एक घर एक सदस्यको अभियानमा अन्र्तगत सदस्य बनाउने गरि कार्यक्रम तयार पारिएको छ, उहाँले भन्नुभयो, सदस्य बन्नका लागि एउटा समुहमा कम्तीमा १५ सदस्य रहनुपर्ने व्यवस्था रहेको छ ।’ कोषमा हाल ९५ लाख रुपैया बराबरको चुक्त्ता पुँजी रहेको छ ।

कोषका अध्यक्ष रामचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा श्री सरस्वती माध्यामिक बिधालयका प्रधानध्यापक रामचन्द्र पौडेल, वडा नम्बर ७ का वडासदस्य मालती ढकाल, वडा नम्बर ८ का वडासदस्य बिमला श्रेष्ठ, समाजबादी पार्टी नेपालका जिल्ला सदस्य बुद्धि श्रेष्ठ, भीमकुल बचत तथा ऋणसहकारी ंसंस्थाका अध्यक्ष कृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।