काठमाण्डौं- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार हाल देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । देशको पश्चिमी भूभागका केहि स्थानमा, मध्य र पू्र्वी भूभागका थोरै स्थानमा वर्षा भइरहेको छ ।
शनिबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहितको वर्षाको सम्भावना रहेको छ । हावाहुरी र असिना पनि पर्न सक्ने महाशाखाको भनाइ छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । शनिबार राति देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
देशको पश्चिमी भूभागका थोरै स्थानहरूमा साथै मध्य तथा पूर्वी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा हिजैदेखि वर्षा भइरहेको छ । हिजो साँझ रोकिएको झरी बिहानदेखि निरन्तर परिरहेको छ ।