नागरिक सवाल संबाददाता गोरखा – एकेडेमी अफ कफी एक्सलेन्सल नेपालले गोरखामा ‘कफीमा महिला कार्यक्रम’ लागु गर्न लागेको छ ।
नाफा मुलक यो संस्थाले गोरखामा ५०० महिलाहरुलाई रोजगारी दिने गरी एक्सलेन्सल नेपाल गोरखामा कार्यक्रम लागु गर्न लागेको हो ।
संस्थाले सदमुकाममा एक छलफल कार्यक्रम गर्दै जिल्ला कफी उत्पादक सहकारी संघ मार्फत सहकारीमा आवद्व भएका महिलाहरुलाई परिचालन गर्न लागेको एक्सलेन्सल नेपालका संस्थाकप संयोजक सन्तोष पोखरेलले बताउनुभयो । काम महिलाले गर्ने तर जस पुरुषले पाउने भएका कारण पनि गोरखा जिल्लामा ‘कफीमा महिला कार्यक्रम’ लागु गर्न लागेको संयोजक पोखरेलले जानकारी दिनुभयो ।
एकेडेमी अफ कफी एक्सलेन्सल नेपाल कफीलाई उच्च गुणस्तरको बनाउनको लागि स्थापना भएको यो संस्था हो । यो संस्था कफी भित्रका विज्ञान, अनुसन्धान, प्रशिक्षण र त्यसको बजारीकरण गर्ने संसार भरी काम गर्ने गरी स्थापना भएको नेपाल च्याप्टर हो । केन्द्रिय कार्यालय पोखरामा स्थापना गरी राजधानी काठमाण्डौंलाई मध्यभाग मानेर पश्चिममा गोरखा, तनहुँ, लमजुङ र कास्की र पूर्वमा ईलाम र धनकुटामा काम गर्ने गरी स्थापना गरिएको हो । संस्थाले आयआर्जन, सामुदायिक विकास र सामाजिक कार्य गर्ने गरी ‘कफीमा महिला कार्यक्रम’ नेपालमा लागु गर्न लागेको हो ।
यो कार्यक्रम लागु हुने क्षेत्रमा सहकारीमा आवद्व भएका महिलाहरुले कम्तीमा पनि ५० बोट राम्रा खालका कफी लगाएको हुनुपर्ने छ । संस्थाले एउटा महिलाको लागि १० रोपनी क्षेत्रफल सम्म लगाएको कफी खेतीका लागि सहयोग उपलब्ध गराउने गर्दछ । तर यो खेती भित्र एक्सलेन्सल नेपाल सिफारीस गरेको खेती मात्र भित्र बाली लगाउन पाउने छन ।
संस्थाले पहिलो चरणमा ५ बर्ष सम्म महिला किसानहरुलाई सहयोग गर्ने गर्दछ । खेती गरेका महिलाहरु संग कानूनी परामर्श, संभाब्यता अध्ययन, विषय बिज्ञ, कृषि प्राविधिक र औजार तथा नर्सरी खेती सघाउन एक्सलेन्सल नेपालले महिलालाई पठाउने ब्यवस्था मिलाएको संस्थापक संयोजक पोखरेलले बताउनुभयो।
परियोजनाले नेपाल सरकारले जिआईएस मार्फत कफी खेती गर्नका लागि योग्य भएको भूगोल छनौट गरेको क्षेत्रमा मात्र सहयोग उपलब्ध गराउने छ । खेती पूर्व माटो परिक्षण गरीने र सो माटोमा लागि उपयुत्त बिरुवा अरविका प्रजातिका विरुवाहरु उत्पादन तथा बेर्ना सहयोग गर्ने छ । परियोजनाले कफी खेतीका लागि छनौट भएका सहकारी मार्फत महिलाहरुलाई बिऊ, बेर्ना, नर्सरी सबै प्याकेज, कृषि सामाग्रीमा खनजोत, तापक्रम मापन यन्त्र, गोडमेलका सबै औजार समेत निशुल्क उपलब्ध गराउने छ ।
जिल्लामा कफी खेतीमा महिलाहरुलाई सहभागी गराउने बिषयमा एकेडेमी अफ कफी एक्सलेन्सल नेपाल र जिल्ला कफी उत्पादक सहकारी संघ बिच छलफल पछि आशय पत्र समेत तयार गरिएको छ । पहिलो चरणमा ५ बर्षका लागि गर्न लागेको यो कार्यक्रम जुन महिनाबाट सुरु हुने छ । नेपालमा लागु हुन लागेको यो परियोजनाको लागि ग्वाटेमाला, लण्डन र अमेरीकाको एजेन्सीहरुले आर्थिक सहयोग उपलब्ध गराउने छ ।