गोरखा २३, फागुन । जिल्ला प्रसासन कार्यालय गोरखाले बिश्वभर फैलिदै गएको कोराना भाईरस (कोभिड १९) को संक्रमणको जोखिमबाट बच्नका लागि भन्दै सार्वजनिक भेला, सभासम्मेलन, मेला पर्व नगर्न सवैलाई आग्रह गरेको छ । बिहिबार सूचना जारी गर्दै कार्यालयले भीडभाडबाट कोरोना भाईरसको संक्रमण हुनसक्ने सम्भावना भएकाले व्यापक जनसहभागिता हुने सार्वजनिक स्थलमा नजान पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रसासकिय अधिकृत हर्कबहादुर रोकाद्धारा जारी सूचनामा कोरोना भाईरसको संक्रमण बिश्वका ७७ मुलुकमा फैलिसकेको बिश्व स्वास्थ्य संगठनले उल्लेख गरिसकेको भन्दै नेपाल लगायत बिश्वभरी नै यसको जोखिम उच्च रहेकाले सर्तक रहन आग्रह गरिएको छ ।
नेपालमा अहिलेसम्म १ जनामा मात्र यसको संक्रमण देखिएको भएता पनि कोरोना भाईरसको संक्रमणको जोखिमलाई मध्यनजर गरि आफ्नो स्वास्थ्य अबस्थाको बारेमा सचेत रहन, व्यक्तिगत सरसफाईमा ध्यानदिन, भिडभाडमा नजान, सावुनपानीले हातमुख धुन, खोक्दा, हाछ्युँ गर्दा नाक र मुख रुमालले छोपेर गर्न भनिएको छ ।
प्रसासनले जारी गरेको सूचनामा बढि ज्वारो आएमा, श्वासप्रश्वासमा अत्याधिक समस्या देखिएमा, रुधाखोकी, घाँटी, टाउको तथा जिउ दुख्नु जस्ता कुनै लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्यसंस्थामा सम्र्पक गर्न समेत आग्रह गरेको छ ।

त्यस्तै कार्यालयले कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी संक्रमण रोक्न तथा जोखिम न्युनीकरणका लागि जिल्लामा सजकता अपनाउनका लागि कुनै प्रकारको मेला महोत्सव, लगायतका कार्यक्रम नगर्न नगराउनु समेत सवैलाई अपिल गरेको छ ।