गोरखा २२, फागुन
गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेतमा बलेरो जीप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा धार्चे गाउँपालिका वडा नम्बर ६ का वडा सचिव किरण रिमाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । रिमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुुर्घटनामा परि धार्र्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमाया गुरुङ सहित अन्य ७ जना गम्भीर घाइते भएका छन् । अन्य घाइतेहरुमा धार्चे गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरु सवैको अबस्था गम्भीर रहेको र अहिले दोङचेत स्थित फेज नेपालद्धारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भईरहेको छ । घाइते अधिकासंको टाउको र मेरुदण्डमा चोट लागेको प्रहरीको भनाई छ । रातीको समयमा सामान्य बर्षा भएकाले उकालो कच्ची सडकमा जीप मोडमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ ।
जीप गएराती करिब ७ ः ३० बजे सडकबाट झण्डै ३ सय मिटर तल खसेको उद्धारका लागि घटनास्थलमा पुग्नु भएका नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका सभापती भगवानबाबु मास्केले जानकारी दिनुभयो । घटनास्थल बिकट भएकाले प्रहरीलाई राती १० बजेमात्र जानकारी आईपुगेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ । घटनास्थल अति नै बिकट भएकाले हेलिकप्टरबाट उद्धारका लागि पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।