हेटौंडा २०, फागुन । ६ किलो भन्दा बढी सुनसहित मकवानपुरबाट एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्गको हेटौंडा– १५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसमा चेकजाँच गर्दा अनेकल पक्राउ परेका हुन् । अनेकलले फलामको बेरिङभित्र लुकाएर ल्याउदै गरेको सुन बरामद गरेको मकवानपरका प्रहरी उपरिक्षक सुशील सिं राठौरले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।