गोरखा १९, फागुन गोरखा जिल्लाको बिभिन्न ठाउँमा बेहोस बनाई लुटपाट गर्दै आएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा आज पत्रकार सम्मेलन गरि पक्राउ परेकाहरुलाई सार्वजनि गरिएको हो । उनिहरुले बिभिन्न ठाउँमा घरमा बास बस्ने बाहानामा जुस खुवाएर घरधनीलाई बेहोस बनाई लुटपाट गर्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा गोरखाको बारपाक घर भई हाल चितवन बस्दै आएका ४६ बर्षका प्रकाश गुरुङ, उदयपुर जिल्लाको निजगढ गाउँपालिका–७ का बर्ष ३८ का कृष्ण बि.क, रानीबास गाउँपालिका– २ सालघारी घर भएका ५३ बर्षका अमृत राना र सुनसरी जिल्लाको इटहरी नगरपालिका–४, खनारका प्रदिप चौधरी रहेका छन् । उनिहरुले जिल्लाको शहिद लखन गाउँपालिका–८ नाम्जुङमा यहिँ फागुन ८ गते एकैघर ३ जनालाई बेहोस बनाई घरमा भएका सवै गरगहना लुटपाट गरेको एसपी अधिकारीले जानकारी दिनुभयो ।
गएको माघ २५ गते गोरखा नगरपालिका–५ नाङलेपानी स्थित भुवानी आर्चायलाई बेहोस बनाई लुटपाट गरेको र २६ गते गोेरखा नगरपालिका–६ हरमटारी बस्दै आउनु भएकी सन्तुमाया रम्तेललाई बेहोस बनाई लुटपाट गरेको घटना समेत उनिहरुको संलग्नता रहेको पाइएको उहाँले बताउनुभयो । उनिहरुलाई चोरीका गरगहना सहित नवलपरासीको कावासोती नगरपालिका–३ संगमचोकबाट पक्राउ गरेर ल्याइएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
‘प्राय गरि पूरुष नभएको घरमा अभियुक्तहरुले आफुहरु डोजर ड्राइभर भएको, केहि दिन साडइमा काम गर्नुपर्ने भएकाले आएको भन्ने र एकदुई दिन बसेपछि जुस मासु लगायतमा लठ्याउने औषधी हालेर खुवाउने र लुटपाट गर्ने गरेका रहेछन् ।’ पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो । पक्राउ परेकाहरुले नवलपरासी, लम्जुङ लगायतका जिल्लामा समेत बेहोस बनाएर लुटपाट गर्दै आएको अनुसन्धानका क्रममा खुल्न आएको उहाँको भनाई छ । पक्राउ परेकालाई जिल्ला अदालत गोरखाबाट म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।