काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल- प्रचण्डमाथि जुत्ता प्रहार भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ।
प्रहरीले महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको डीआइजी विश्वराज पोखरेले जानकारी दिनुभयो ।
छानविनका लागि गठित समितिमा डीएसपी होबिन्द्र बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिमिल्सिना सदस्य रहनु भएको छ ।
आईतबार राष्ट्रियसभा गृहमा अध्यक्ष प्रचण्ड माथी कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला २२ वर्षीय युवक रतन तिरुवाले जुत्ता प्रहारको प्रयास गरेका थिए । घटना लगत्तै तिरुवालाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएको थियो।