आँबुखैरेनी १९, फागुन,। गोरखा जिल्लाको प्रवेशद्वार तनहुँको आँबुखैरेनी बजारको निगरानी सीसी क्यामराबाट शुरु गरिएको छ । बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका २ र ३ का विभिन्न स्थानमा सीसी क्यामरा जडान गरिएको हो ।
आँबुखैरेनी गाउँपालिका र तनहुँ उद्योग वाणिज्य सङ्घको सहयोगमा गत वर्ष मुख्य बजार क्षेत्रमा १७ वटा सीसी क्यामरा जडान गरिएकोमा यस वर्ष गाउँपालिकाकै सहयोगमा आँबुखैरेनी गाउँपालिका २ र ३ मा थप १२ क्यामरा जडान गरिएको छ । सीसी क्यामराको कन्ट्रोल रुम इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ ।
बजार क्षेत्रमा जडान गरिएको क्यामराले दुर्घटना न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्याएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धि सुवेदीले जानकारी दिनुभयो । ‘बजार क्षेत्रमा जडान गरिएका २९ सीसी क्यामरामार्फत बजारको निगरानी गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘सीसी क्यामराले समाजमा शान्ति र अमनचमन कायम गर्न सहयोग पुर्याउँछ ।’
प्रहरीले सीसी क्यामराको माध्यमबाट चौबिसै घण्टा राजमार्ग, मुख्यबजार र संवेदनशील क्षेत्रको निगरानी गरिरहेको जनाएको छ ।