गोरखा १९, फागुन
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाबाट प्रदान हुदै आएको सेवा प्रवाहका बिषयमा नागरिकहरुको सुझाव गुनासो र धारणा बुझ्न सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर ४ स्थित सौरपानीमा आईतबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले बिकास निर्माणका काम तिव्रता दिएसंगै अनुगमनलाई समेत थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । उनिहरुले बजेट बिनियोजन गर्दा टुक्रे योजनामा बढि रकम छुट्याइने गरेको पाइएकाले त्यसो नर्गन पनि गाउँपालिकालाई सुझाव दिएका छन् ।
त्यस्तै अलैची किसानहरुले उत्पादन गर्ने अलैचीको बजारीकरणका लागि सहयोग गर्न सहभागीहरुले गाउँपालिकालाई आग्रह समेत गरेका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिका भित्र ‘एक घर, एक धारा’ कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने, सडक निर्माण गर्दा बाह्रै महिना सञ्चालन हुने गरि निर्माण गर्नुपर्ने, स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि उत्पादनलाई बजारसम्म पु¥याउनका लागि कृषि सडक निर्माणमा जोडदिनुपर्ने लगायतका सुझाव गाउँपालिकालाई दिएका छन् । त्यस्तै कार्यक्रममा केही सहभागीले एकल महिलालाई जस्तै एकल पुरुषका लागि समेत सामाजिक सुरक्षा भत्ताको व्यवस्था हुनपर्ने माग समेत गरेका थिए ।

कार्यक्रममा नागरिकहरुको जिज्ञासाको जबाफ दिनुहुदै गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले यस्ता खालका सुझावले जनताको आबश्यकताको पहिचान गर्न मद्दत पुग्ने भन्दै सुझावलाई आत्मासाथ गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाका लागि नागरिकहरुले लिने परीक्षा भएको भन्दै त्यसबाट आउने सुझाव, गुनासो र चासोलाई सम्बोधन गर्दै जाने बताउनुभयो । ‘कार्यक्रममा महत्वपूर्ण सुझावहरु आएका छन्, अध्यक्ष भट्टले भन्नुभयो, कुन समस्यालाई कसरी हल गर्ने हो छलफल गरेर समाधान गर्ने कुरामा तपाईहरु ढुक्क हुनुहोस् ।’
उहाँले आफ्नो सिंगो जीवन राजनीतिक बाहेक अन्त कतै नदेखेको उल्लेख गर्दै जनताले लिने हरेक खालको परीक्षामा सहभागी हुदा आफुले खारिने मौका प्राप्त गर्ने बताउनुभयो । ‘मेरो जीवन राजनीति बाहेक अन्त कतै देखेकै छैन र कल्पना पनि गर्नसक्दिन, अध्यक्ष भट्टले भन्नुभयो,‘ म पनि मान्छे नै हो, जनताले स्वतन्त्र ढंगले छोडिदिने हो भने, दिशा बदलिन पनि सक्छ, त्यस कारण मलाई पटक पटक खबरदारी गर्नुस् ।’
कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका प्रमुख प्रशासकिय प्रमुख गौतम भण्डारीले गाउँपालिकाबाट प्रदान गर्ने सेवा सुबिधाका सवालमा भएका कमिकमजोरीलाई सच्याउदै अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, हाम्रा पनि केही बाध्यताहरु छन्, सिमाहरु छन्, त्यसमा रहेर काम गर्नुपर्ने हुन्छ, तर सेवा प्रवाहमा ढिलासुस्ती, बिकास निर्माणमा प्राथामिकता दिने सवालमा प्रतिबद्ध छौ ।’ सार्वजनिक सुनवाई कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटिका सदस्य भगवती तिवारी, नेकपा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष नरबहादुर गुरुङ, नेपाली काग्रेस बारपाक सुलिकोट गाउँपालिकाका सभापती जीतबहादुर घले, समाजबादी पार्टी गोरखाका जिल्ला सदस्य अमित गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य कैलास बाबु श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।