गोरखा । गोरखा नगरपालिकाले सबै वडा कार्यालयहरु आ–आफ्ने वडाबाट सञ्चालनमा ल्याएको छ । भवन अभावका कारण नगरपालिका भित्रैबाट सञ्चालन हुदै आएको वडा नम्बर ७ को कार्यालय आइतबारदेखि आफ्नै वडा भित्र सञ्चालनमा आएसंगै सवै वडाहरु आ–आफ्नो वडाबाट सञ्चालन भएको हो । धारपानी स्थित सामुदायिक भबनमा आईतवार कार्यालय स्थापना गरेर वडा नम्बर ७ ले सेवा सुरु गरेसँगै सबैवडामा कार्यालय स्थापना भएको हो ।
‘ढिलै भएपनि हामीले वडास्तरबाटै सेवा दिने गरी नगरभित्र सबैवडामा कार्यालय संचालन गर्न सकेको छौँ’ कार्यालय भबनको उद्घाटन गर्दै नगरप्रमुख राजनराज पन्तले भन्नुभयो । अबको दुई वर्ष भित्र वडा भित्रै जग्गा खोजेर कार्यालय भबन स्थापना गर्ने योजना रहेको उहाँले बताउनुभयो। भबन, स्थान अभाव लगायत बिभिन्न कारणले वडा नम्बर ७ को कार्यालय वडाबाटै संचालन गर्न समस्या हुँदा नगरपालिकामा एउटा कोठाबाट सेवा दिनुपर्ने बाध्यता थियो ।
वडा कार्यालय उद्घाटन कार्यक्रम गोरखा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बिष्णुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पन्त, स्थानीय समाजसेवी गोवद्र्धन आचार्य, वडा सदस्य निलबहादुर पुलामी लगायतले धारणा राखेका थिए ।