Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

दिवा खाजा कार्यक्रमपछि बिधार्थी नियमित बिधालय आउन शुरु


13.3K
Shares

दिवा खाजा कार्यक्रमपछि बिधार्थी नियमित बिधालय आउन शुरु

प्युठान । रोकिएको दिवा खाजा कार्यक्रम पुनः सुचारु भएपछि, प्युठानका विद्यालयहरुमा विद्यार्थी नियमित हुन थालेका छन् । प्राथमिक तहसम्म दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि पूरै समय विद्यालयमा बस्ने विद्यार्थीको सङ्ख्या पनि बढेको छ । महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा बाल विकासदेखि कक्षा ५ सम्म १ सय २९ जना विद्यार्थी पढ्छन् ।

पहिलो पटक दिवा खाजा कार्यक्रम शुरु भएपछि विद्यार्थीहरु नियमति विद्यालय आउने र पूरै समय विद्यालयमा बस्ने गरेका प्रधानाध्यापक पिताम्बर पौडेलले बताउनुभयो । अहिले देशैभर स्थानीय तहले विद्यालय सञ्चालन भएको दिन दिवा खाजाको व्यवस्था मिलाएको छ । प्रति विद्यार्थी दैनिक १५ रुपैयाँका दरले विद्यार्थीलाई खाजा रकम तोकिएको छ ।

विद्यार्थीको खाजा र दैनिक उपस्थितिको आधारमा अभिभावकलाई एकमुष्ठ रकम दिने गरिन्छ । विद्यालय उपस्थित नभएमा उनीहरुले रकम पाउँदैनन् । अभिभावकले घरमै खाजा बनाएर छोराछोरीलाई पठाउँछन् । विद्यालयमा हरेक दिन खाजा ल्याउने तालिका पनि रहेको कक्षा ५ का विद्यार्थी रक्षा पुन मगरले बताउनुभयो । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, पातिहाल्नामा पनि दिवा खाजाले विद्यार्थीको सङ्ख्या बढाएको छ ।

विद्यार्थीलाई प्रत्येक दिन फरक–फरक खाजा, अण्डा–चना, मकै, केराउ, फलफूल, रोटी लगायतका खानेकुरा बनाएर दिईन्छ । खाजा बनाउनको लागि अभिभावकहरु पालैपालो विद्यालय जाने गरेको एकजना अविभावक विमला विकले बताउनुभयो । बालाबालिकाले खाने खाजाको अनुगमन, विद्यालय व्यवस्थापन समितिबाट नियमित रुपमा हुन्छ । पछिल्लो समय विद्यार्थीले जङ्क फुड अर्थात् पत्रु खाना खान छोडेका ने.रा.प्रावि पातिहाल्नाका प्रधानाध्यापक दिपक श्रेष्ठको भनाइ छ ।

दिवा खाजा कार्यक्रमको बजेट सिधै स्थानीय तहमा जाने गरेको छ । परीक्षा बिदा कटाएर विद्यार्थी नियमित भए वर्षभरी १ सय ८० दिनको, बालबालिकाले २ हजार ७ सय रुपैँया पाउँछन् । दिवा खाजा कार्यक्रम शुरु गरेसँगै प्युठानका ४० हजार बालबालिका प्रत्यक्ष लाभान्वित भएका शिक्षा विकास तथा सम्वन्य इकाई प्रमुख शिव पण्डितले जानकारी दिनुभयो । दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित भएपछि शैक्षिक गुणस्तर बढ्नेमा शिक्षक र अविभावक आशावादी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology