काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने घोषणा गर्नु भएको छ । मन्त्री गुरुङले पदबहाली भएको सय दिनको अवसर पारेर शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नविन सोचलाई अघि बढाइएको बताउनुभयो ।
‘मुलुकको समृद्धिका लागि सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नयाँ सोच अघि बढाइएको छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘भौतिक पूर्वाधारको विकाससँगै सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गर्ने काममा आवश्यक सुझाव दिन सबैलाई आह्वान गर्दछु ।’
मन्त्री गुरुङले चालु आर्थिक वर्षभित्र मुलुकलाई छाउगोठमुक्त बनाउने गरी प्रदेश र स्थानीय सरकारसँग आवश्यक सहकार्य गरिएको जानकारी गराउनुभयो । त्यसका लागि मनको छाउगोठ भत्काउने गरी सामाजिक अभियानको कामलाई सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सञ्चालन गरिएको पनि उहाँले स्मरण गराउनुभयो । मन्त्री गुरुङले छाउगोठ मुक्त अभियानसँगै सरकारले मर्यादित महिनावारीसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन पनि आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले नेपाललाई मर्यादित महिनावारीको देशको रुपमा विश्वमा पहिचान दिनेगरी सो अन्तराष्ट्रिय सम्मेलन आगामी जेठ १३ गतेदेखि १५ गतेसम्म आयोजना गर्ने तयारी भएको बताउनुभएको छ । मन्त्रालयले पहिलो पटक लँैगिक समानता नीति ल्याउने कामको तयारीलाई अन्तिम चरणको पु¥याइएको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले बताउनुभयो ।
नेपाललाई सडक बालबालिका मुक्त बनाउन प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशसँग सहकार्यका साथ काम गर्ने समझदारी पनि आफूले गरेको मन्त्री गुरुङको भनाइ छ । सय दिनको अवधिमा मन्त्रालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई पनि उत्पादन र उद्यमसँग जोडेर उनीहरुलाई आर्थिक रुपमा सबल बनाउने अवधारणा तय गरेको उहाँले बताउनुभयो ।