काठमाडौं, १६ फागुन । अर्थ मन्त्रालयले पूर्वाधार विकासका लागि सरकारले पेट्रोलियम पदार्थमा बढाएको करका कारण तेलको मूल्य नबढ्ने स्पस्ट पारेको छ । शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दै मन्त्रालयले विकास कर बढाउँदा उपभोक्ता मूल्यमा वृद्धि नहुने स्पष्ट पारेको हो।
करको दर परिवर्तन गर्ने सरकारले निर्णय गरेपछि पेट्रोलियम पदार्थको मूल्य बढ्ने भनी प्रचार गरिएको प्रति अर्थमन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ।
मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अहिलेको दर पुनरवलोकन गर्दा नेपाल आयल निगमद्वारा समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकतालाई ध्यानमा राख्दा हाल बजारमा कायम उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने र निगमको स्वचालित मूलय प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको छ।’
मन्त्रालयले निगमको नाफा तथा वित्तीय अवस्था सहज छ। सोही कारण पूर्वाधार विकास खर्च गर्न सक्षम देखिएकाले कर बढाइएको जनाएको छ ।