दैलेख। दैलेखको भैरव माध्यकि बिद्यालयका प्रधानाध्यापकलाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ। दैलेख नौमुले गाउँपालिका–१ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई ३० हजार घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो।
सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गगनबहादुर बस्नेतले शिक्षकहरूको चौमासिक तलब, दसैँ खर्च निकासा गर्दा पटकपटक सिंहले घुस माग्ने गरेका बताउनु भएको थियो । उजुरीका आधारमा सुर्खेत कार्यालयबाट गएको अख्तियारको टोलीले प्रधानाध्यपकलाई घुससहित नियन्त्रणमा लिएको सापकोटाले जानकारी दिनुभयो।
घुस रकम लिइसकेको अवस्थामा प्रअ सिंहलाई नौमुले गाउँपालिका–१ मा रहेको एनएमबी बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिनुभयो।