काठमाडौँ — नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध षड्यन्त्र भएको र त्यसको मुकाबिला गर्न तयार रहेको बताउनुभ भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको पार्टी सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने, राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनेसहित राष्ट्रपतिको अधिकार थप्नेसम्मका विषयमा संविधान संशोधनको प्रसंगलाई एकै ठाँउ राखेर प्रधानमन्त्री ओलीले आफूविरुद्ध खेलु भएको आरोप लगाउनु भएको हो ।
‘‘पछिल्ला घटनाक्रमहरू जसरी विकसित भएका छन्। मेरोविरुद्धको खेल हो। तर म सबै कुराको सामना गर्न तयार छु,’ बैठकमा सहभागी नेताले उहाँको भनाई उद्धृत गर्दै भन्नुभयो, ‘निर्णय त तपाईंहरूले गरेरै आउनुभएको थियो। ल भैइहाल्यो। वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजाऔं। अरु निर्णय गर्दै जाउँला।’
राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यको संख्या थप्ने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव ओलीकोभएको सचिवालय सदस्यले जानकारी दिनुभयो। तर, प्रधानमन्त्रीको उक्त प्रस्तावमा सचिवालयका अरु सदस्यले असहमति जनाएको बताइएको छ ।
गौतम निवास भैंसेपाटी हुँदै पार्टी सचिवालयका बहुमत सदस्यहरूले आफूविरुद्ध लगातार दबाब बनाएको ओलीको बुझाइ छ। एमसीसी सम्झौता चाँडो संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्रीको चाहना पनि पार्टीभित्रकै कार्यदलको सिफारिसपछि थप अन्योलमा परेको छ।