एजेन्सी : भारतको राजधानी दिल्लीमा हिंसा भड्किदा १३ जनाको मृत्यु भएको छ । दिल्ली लगायत छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमा क्षेत्रमा हिसां भड्किएपछि त्यस क्षेत्रमा निगरानी बढाइएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा रहेका प्रदर्शनकारीबीच झडप हुँदा घाइते हुनेको संख्या झण्डै सय जना पुगेको बताइएको छ ।
भारतीय गृह मन्त्रालयमा सोमबार बसेको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको बताउनुभयो ।
यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
प्रदर्शनकारीबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबैभन्दा खराब हिंसा भएको छ । हिंसाले साम्प्रदायिक रुप लिएको छ । हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।