Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाको प्रमुख कारक पाइलट


2.5K
Shares

तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाको प्रमुख कारक पाइलट

काठमाण्डौं । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी एक वर्षअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट रहेको अन्तिम छानबिन प्रतिवेदनले देखाएको छ । घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा बनाएको आयोगद्वारा तयार पारिएको प्रतिवेदनले पनि २७ वर्षका पाइलट प्रभाकर केसीलाई मुख्य दोषी औंल्याएको हो ।

प्रतिवेदनले पाथीभराबाट फर्किंदा इन्जिन स्टार्ट गरेलगत्तै क्याप्टेनले क्विक टेकअफ (लगत्तै जहाज उडाउनु) लाई युफोरियाको प्रभावको कारण भनेको छ । उडानका क्रममा अक्सिजनको अभावका कारण हुने हाइपोक्सियाभन्दा अघिको चरणलाई युफोरिया भनिन्छ । हेलिकप्टरका पाइलट प्रभाकर केसी तालिमप्राप्त र सबै मापदण्ड पूरा गरेको प्रतिवदेनमा उल्लेख छ ।

तर पाइलटले सुरुमा एटीएस रिपोर्टिङ अफिसमा सुरुमा पाँचथर उडानका लागि अनुमति लिए पनि उडाउने बेलामा रेडियोमार्फत तेह्रथुम जान लागेको जानकारी दिएको प्रतिवेदनमा उल्लेख छ । पाइलटले निकै हतार गरेर तेह्रथुमका लागि उडान भरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार पाइलटले अगाडिको सिटमा दुई जना यात्रु राख्दा उनीहरुको तौलको मापन राम्रोसँग नगर्दा गुरुत्वाकर्षणको केन्द्रको मूल्यांकन सही ढंगले गर्न नसकेको पनि देखिएको छ ।

उच्च हिमाली भूभागमा उडानका बेला पहिले भएका दुर्घटनामा पनि गुरुत्वाकर्षणको सन्तुलन नमिल्दा त्यसले उडानलाई असुरक्षित बनाउने गरेको देखिएको थियो । प्रतिवेदनले दुर्घटनाको कारण प्रतिकूल मौसम पनि भएको उल्लेख गरेको छ । त्यस दिन पाथीभरामा हिउँ परिरहेको र हावाको वेग पनि उच्च रहेको तथा भिजिबिलिटी पनि कम रहेको थियो ।

मौसमको प्रतिकूलता र हेलिकप्टरले पूर्ण यात्रु क्षमतामा उडान भरेका कारण अगाडिको सिसामा वाफ जमेको हुन सक्ने र त्यसका कारण पनि पाइलटले बाहिरको दृश्य ठम्याउन नसकेको निष्कर्ष छानबिन आयोगले निकालेको छ ।

हेलिकप्टरमा काठमाडौं–तेह्रथुम–काठमाडौं उडानका लागि मात्रै इन्धनको व्यवस्था गरेको देखिएकाले पाथिभरा उडानको पूर्वयोजना नभएको पनि प्रतिवेदनमा उल्लेख छ । पाइलटमा कुनै पूर्ववत् स्वास्थ्य समस्या नरहेको भए पनि दुर्घटना हुनुपूर्व उनको शरीरमा अक्सिजनको कमी भएको हुन सक्ने आँकलन आयोगले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology