काठमाण्डौ । रामेछापको खाँडादेवी गाउँपालिकामा फेला परेको चितुवा नियन्त्रणमा लिइएको छ । खाडाँदेवी गाउँपालिका वडा नम्बर ४ खोपको जङ्गलमा सोमबार स्थानीयले चितुवा देखेपछि मन्थली पशु सेवा कार्यालय रामेछापलाई खबर गरेका थिए ।
डिभिजन वन कार्यालयकोे पहलमा पशुसेवा कार्यालय मन्थली नगरपालिकाबाट संयुक्त रुपमा खटिएको टोलीले सोमबार दिउँसोे नियन्त्रणमा लिएको थियो । चितुवा करिब ५ फिट उचाई र ७ फिट लम्वाइ रहेको मन्थली नगरपालिका पशु सेवा शाखाका प्रमुख मुकुन्दकुमार खड्काले जानकारी दिनुभयो ।
बिरामी अवस्थामा रहेको चितुवाको पछाडीको भाग प्यारालाइसिस भएकोले मन्थली पशु सेवा कार्यालयमा राखी उपचार गरिने डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत युगल किशोरलाल कर्णले जानकारी दिनुभयो । सामान्य उपचारपछि उक्त चितुवालाई राष्ट्रिय निकुञ्ज पठाइने वन अधिकृत कर्णले बताउनुभयो ।