रौतहट । रौतहटमा दुर्गाभगवती गाँउपालिका– ३ मा बुहारीसंग अनैतिक सम्बन्ध राखेको आशंकामा छोराले आफ्नै बाबुको हत्या गरेको खुलेको छ । र्गाभगवती गाँउपालिका– ३ का राजकुमार पण्डित कुम्हारले आफनै बावु ७० वर्षीय फेँकन पण्डितको गत माघ २८ बिभत्स हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
गाँउछेउमा रहेको गोठमा सुतिरहेका बाबुमाथि धारिलो हतियार प्रहार गरी राजकुमारले बावुको बिभत्स हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले आइतबार कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो ।
अभियुक्त पण्डितमाथि ज्यान सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान सुरु गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । आफुले आवेशमा आएर सो घटना घटाएएको राजकुमारले स्वीकार गरेका छन् ।
पिपरा बजारमा किराना पसल व्यापार गरेर बसेका २० वर्षीय छोरा राजकुमारले बाबु र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशंकामा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।