एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले आफ्नो पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको प्रतिबद्धता पुरा गर्ने हो भने काश्मिर पाकिस्तानको पक्षमा आउने बताउनु भएको छ ।
बेल्जियमको एक टेलिभिजनसँगकोे अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्रीले काश्मिर जनतालाई आत्मनिर्णयको अधिकार दिइयो भने उनीहरूले पाकिस्तानलाई रोज्ने बताउनु भएको हो । उहाँले काश्मिर क्षेत्र मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्र रहेकाले यो पाकिस्थानको पक्षमा आउने बताउनुभयो ।
इमरानले भारतमा जबसम्म नाजीसँग प्रभावित भएर बनेको आरएसएसका समर्थन रहेको मोदी सरकार हुन्छ तबसम्म आफूले काश्मिर मुद्दामा समाधानको आशा नदेखेको उल्लेख गर्नुभयो । काश्मिर मुद्दा समाधान गर्न आवश्यक भएको विषयमा उहाँले जोड समेत दिनुभयो ।
बेल्जियमको बीआरटी टीभी नेटवर्कलाई दिएको उहाँको उक्त अन्तरवार्ता पाकिस्तानको सरकारी च्यानल पीटीभीमा पनि प्रसारण गरिएको थियो ।
अन्तरवार्ताका क्रममा इमरानले मोदी सरकारको तर्फबाट भारत प्रशासित काश्मिरबाट विशेष राज्यको दर्जा फिर्ता लिएको मुद्दा पनि उठाउनु भएको थियो । काश्मिरको मुद्दालाई संवेदनशील बताउँदै उहाँले यसको समाधान भारत र पाकिस्तान दुबैको हितमा हुने बताउनुभयो ।
“काश्मिरको विषयलाई लिएर पाकिस्तान र भारतबीच ३ पटक युद्ध भइसकेको छ, उहाँले भन्नुभयो, ‘दक्षिण एसियाका यी दुई ठुला देशको सम्बन्ध सामान्य बनाउनमा ठूलो मुद्दा बनेको छ, काश्मिर ।” यो व्यापार र समृद्धिको मार्गमा मुख्य बाधा हो । यदि दुई देशको सम्बन्ध सामान्य हुन्छ, कारोबार राम्रो हुन्छ भने दुबैलाई आफ्नो गरिबी पनि कम गर्न मद्दत हुनेछ ।’