गोरखा १०, फागुन ।
“नेतृत्वदायी भूमिकामा जुनियर तथा युवा, हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ गोरखामा भोली (आईतबार) देखी शुरु हुने नेपाल जुनियर तथा युवा रेडक्रसको ४० औं गोष्ठीको सम्पूर्ण तयारी पुरा भएको छ । गोरखामा पहिलोपटक सम्पन्न हुन गइरहेको राष्ट्रिय गोष्ठी भव्य रूपमा सम्पन्न गर्न जिल्ला शाखा र आतिथ्य सर्कलले गोरखा बजारमा र बसपार्कमा स्वयंसेवक डेस्क राखी गोष्ठीमा सहभागी हुन आउने प्रतिनिधिलाई कार्यक्रम स्थल लगायतमा पुग्न सम्पूर्ण व्यवस्था गरिसकेको रेडक्रस गोरखा शाखामा मन्त्री राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
फागुन ११ र १२ गते दुई दिनसम्म संचालन हुने यस गोष्ठीको उद्घाटन अघि आईतबार बिहान सदरमुकाम क्षेत्रमाप्रभातफेरी कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । ‘बिहान ९ बजे समुद्घाटन कार्यक्रम सुरू गर्ने गरी कार्यक्रम तय गरिएको छ, मन्त्री न्यौपानले भन्नुभयो, ‘यसै गरी फागुन १३ गते गोरखा बजारलगायतका ऐतिहासिक र धार्मिकस्थलहरूको भ्रमण गराउने कार्यक्रम तय गरिएको छ ।’
जुनियर तथा युवाहरू भनेको नेपाल रेडक्रसको मेरूरूदण्ड हुन् । नेपाल रेडक्रसको सम्पूर्ण संगठनात्मक सञ्जाल र सदस्य संख्यालाई हेर्दा करिव ७९ प्रतिशत जुनियर तथा युवा रेडक्रस सर्कलले ओगटेका छन् । नेपाल रेडक्रसका ६ हजार २ सय ५५ जुनियर तथा युवा सर्कलहरूमा आवद्ध भई मानवीय सेवामा संलग्न ८ लाख ५२ हजार ४६८ जना जुनियर तथा युवा सदस्यहरू रहेका छन् ।
नेपाल रेडक्रसको समग्र संगठनको तस्विर झल्काउनका लागि अहंम भूमिका निर्वाह गर्ने जुनियर तथा युवाहरू, शिक्षक नायकहरूको मन र मस्तिष्कमा सदैव “म सेवा गर्छु” भन्ने मूल मन्त्रसहित ७ वटा कार्यक्षेत्रमा क्रियाशील रहँदै आएक छन् ।देशभरका जुनियर तथा युवा तथा शिक्षक नायकहरू एकै थलोमा भेला भै आफ्रना अनुभव र ज्ञानलाई ब्यवहारमा उतार्न र स्वयंसेवाको भावनामा थप उजागर बनाउने उद्देश्यकासाथ यस राष्ट्रिय गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीले मसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरूमा छलफल गर्ने र ती सवालहरूमाः क्षमता अभिवृद्धि गर्ने,जुनियर–युवा रेडक्रसको नीति तथा निर्देशिका एवं संगठनात्मक स्वरूपको साथै सम्पन्न गतिविधिहरूको सिकाई का बारेमा जानकारी आदान प्रदान गरीे विगत वर्षमा गरेका कामको समीक्षा र आगामी वर्षका लागि कार्यक्रमगत दिशानिर्देश गर्नेछ ।
यस कार्यक्रममा ७७ जिल्लाबाट जुनियर तथा युवा प्रतिनिधिहरू, शिक्षक नायक तथा केन्द्रीय पदाधिकारीहरू एवं समितिका सदस्य, दातृ निकायका प्रतिनिधिहरू जिल्ला तथा सर्कलका प्रतिनिधिहरू, कर्मचारीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय डेलिगेटहरू समेत गरी करिव ३०० जनाको सहभागिता रहने अपेक्षा गरिएको यस गोष्ठी जुनियर तथा युवा रेडक्रसकर्मीहरूका लागि एक आपसमा सिक्ने र सामुदायिक भावनाको उर्जा भर्ने उत्सवको रूपमा लिइदै आइएको छ ।
हालै नेपाल रेडक्रसले युवा संलग्नता रणनीती तर्जुमा गरी कार्यन्वयन गर्दे आएको सन्दर्भमा यस गोष्ठीमा सो को जानकारी आदान प्रदान एवं छलफलका साथै गत वर्षमा सम्पन्न गतिविधिहरूको समीक्षा गरी भावी वर्षको लागि योजना तय गरिनेछ । यसै गरी यस गोष्ठीमा समसामयिक बिषयबस्तुको सम्बन्धित बिज्ञहरूबाट सडक सुरक्षा र प्राथमिक उपचार, विपद ब्यवस्थापन र कृतिम घटना अभ्यास,नोवेल कोरोना भाइरस र सोको प्रभावबाट बच्ने उपायहरू, साइबर बुलिङ, पूर्णसरसफाई अभियान , रक्तदानमा युवाहरूको भूमिका जस्ता बिषयमा सैद्धान्तिक र ब्यवहारिक–अभ्यास यस गोष्ठीको प्रमुख आकर्षण रहनेछन् ।
वर्षभरी विभिन्न विधामा राष्ट्रियस्तरमा उत्कृष्ट स्थान हासिल गर्ने महानुभाव तथा निकायलाई समुद्घाटन सत्रका अवसरमा सम्मान पनि गरिने छ । वर्षेनी हुने राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठीका अवसरमा गरेको प्रतिवद्धता अनुरूप रेडक्रस अभियानलाई अझ सशक्त वनाउन यस गोष्ठीमा थप उर्जा प्राप्त हुने र गोरखा घोषणा पत्रसमेत तयार हुने नेपाल रेडक्रस सोसाइटीले अपेक्षा गरेको छ ।