दीपक श्रेष्ठ, गोरखा ९, फागुन । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ९ नाम्जुङ स्थित बाँझोगह्रामा घरमा भएका सवैलाई बेहोस पारी लुटपाट भएको छ । गएराती खाना खाने बाहाना बनाएर ३÷४ जनाको समुहमा आएका अज्ञात समुहले घरमा रहेका सासु, बुहारी र नातिलाई जुस खुवाएर बेहोस बनाई घरमा भएका सुनका सबै गरगहना लुटेर भागेको वडाध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
अज्ञात समुहले ६० बर्षिय जिरा बराम, उहाँकी बुहारी २८ बर्षकी जमुना बराम र ८ बर्षका नाति चुक्थान बरामलाई बेहोस बनाएर लुटपाट गरेको वडाध्यक्ष लामिछानेले बताउनुभयो । लुटेराहरुले घरमा रहेका तिनै जनालाई पाइनापलको जुस खुवाई बेहोस बनाएर १ तोला बराबरको सुनको सादा रिङ, सुनको तिलहरी,औठी, मोवाईल लगायतका गरगहना लुटेर भागेको उहाँले बताउनुभयो ।
गाउँबाट लुटपाट भएको स्थान एकान्तमा पर्ने ठाउँ भएकाले आज बिहान ९ बजेपछि मात्र घटनाको बारेमा थाहा भएकोे वडाध्यक्ष लामिछानेको भनाई छ । ‘आज बिहान करिब साढे आड बजे स्थानीय देबेन्द्र बि.क बारी काम गर्न जाँदा उक्त घरमा बृद्धा बेहोस भएर लडिरहेको देखेपछि घटना सार्वजनिक भएको उहाँले बताउनुभयो ।
घटना लगत्तै बि.कले आफुलाई जानकारी गराएपछि प्रहरीलाई खबर गरी बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । ‘लुटेराहरुको समुहले बुधबार बिहान त्यहि घरमा खाना खाएकोे र बेलुकी पनि मासु लिएर गई उनिहरुले बनाएर खाना खाएको भन्ने बुझिएको छ, उहाँले भन्नुभयो, ‘परिवारका सदस्यलाई पनि मासु खान भनेपनि उनीहरुले नमानेका र पछि जुस खुवाएर बेहोस पारेका हुनसक्छ ।’
बेहोस भएका तिनै जनाको जिल्ला अस्पताल गोरखामा उपचार भईरहेको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । घटनाको बारेमा जानकारी पाए लगत्तै घटनास्थल पुगेर अनुसन्धान गरी लुटेराहरुको खोजी कार्य तिव्र पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।