काडमाडौं । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) यथाहालतमा पास नगर्न नेकपा द्धारा गठित कार्यदलले सुझाब दिएको छ । पार्टीका सचिवालय सदस्य तथा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसीसीका केही बुँदा संशोधन गर्ने सुझाब दिँदै प्रतिवेदन बुझाउन लागेको हो ।
प्रतिवेदन आजै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई हस्तान्तरण गर्न लागेको हो कार्यदलका एक सदस्यले जानकारी दिनुभयो ।“शुक्रबार दिउँसो बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । आजै साँझ अध्यक्षद्वयलाई बुझाउने तयारी समेत भएको छ । यथाहालतमा पास नगर्नू भन्ने सुझाव दिइएको छ । केही बुँदा संशोधनको सुझाव पार्टीलाई दिइएको छ,” उच्च स्रोतले जानकारी दियो ।
प्रतिवेदन बुझाउन कार्यदलका संयोज खनाल तथा सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली बालुवाटार पुगिसकेका छन् । गत माघ १९ गते सकिएको केन्द्रीय कमिटी बैठकले एमसीसी अनुदान प्रस्तावबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदललाई अध्ययन गरेर सुझाव दिन १० दिनको समय दिइएको थियो । त्यसअवधिमा प्रतिवेदन तयार नभएपछि १० दिन थप गरिएको थियो ।