काठमाण्डौ । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सुरक्षण मुद्रण खरिदमा ७० करोड कमिसनको कुराकानीको श्रव्य सामग्री बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । बास्कोटाले हिजो राजीनामा दिए पनि उहाँको सिंहदरबारस्थित कार्यकक्षमा बिहिबार साँझ अख्तियारले छापा मारेको छ ।
मन्त्रालयमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएका छन् । मन्त्री हुँदा बास्कोटालले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।
बास्कोटाले सुरक्षण मुद्रण खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको श्रव्य सामग्रीका विषयमा अध्ययन थालिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भने कमिसन मागेको अडियो सार्वजनिक भएपछि छानबिन अघि बढाउन उजुरी कुर्न नपर्ने बताउनुभएको छ ।