Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सञ्चारमन्त्रीको अडियो कमिसन प्रकरण : ४ अर्ब ८० करोड रकम कमिशन खोज्दा ७० करोडको कमिसन सेटिङ बाहिरियो


5K
Shares

सञ्चारमन्त्रीको अडियो कमिसन प्रकरण : ४ अर्ब ८० करोड रकम कमिशन खोज्दा ७० करोडको कमिसन सेटिङ बाहिरियो

काठमाडौँ । सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको छ । काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन् । त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ ।

प्रधानमन्त्रीलाई डेढ महिना पहिले नै पुगेको थियो अडियो क्लिप

स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थिए । जब स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजियो, त्यसपछि मिश्रले उक्त अडियो प्रधानमन्त्रीलाई दिँदै जर्मन कम्पनीसँग कुल बजेटको १२ प्रतिशत कमिशन लिएर सम्झौता गर्न लागिएको भन्दै प्रधानमन्त्रीलाई उक्त अडियो क्लिप पठाइदिएका थिए ।

तत्कालीन समयमा प्रधानमन्त्री ओलीले ‘हाम्रो नै पैसा लगेर हामीलाई नै घुस दिने ? यो हुनै सक्दैन,’ भन्दै जर्मन कम्पनीलाई पनि ठेक्का नदिने बताएका थिए । तर बिहिबार (फागुन ८ गते) लेखा समितिले जर्मन कम्पनीलाई नै ठेक्का दिन लागेपछि मिश्रको समूहले उक्त अडियो टेप सार्वजनिक गराएको थियो ।

१२ अर्ब बढीमा अर्को सम्झौताको तयारी

अहिले नेपालमै इ–पासपोर्ट छपाई गर्ने भन्दै त्यसका लागि सेक्युरिटी प्रेसको स्थापना गर्न लागिएको थियो । त्यसका लागि सरकारले तयारी पनि थालेको भियो । यसै सम्बन्धमा स्वीस कम्पनीले सेक्युरिटी प्रेस स्थापना गर्नका लागि २ सय मिलियन अर्थात् करिब २६ अर्ब रुपैयाँ प्रस्ताव गरी लगानी बोर्डलाई पत्र पठाएको थियो ।

स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाइदिने भनेको सेक्युरिटी प्रेस स्थापनाका लागि कमिशनको कुरा नमिलेपछि विभिन्न कारण देखाएर अर्को कम्पनीलाई करिब ४० अर्ब रुपैयाँमा ठेक्का दिन लागिएको थियो ।

अहिले स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाउने भनेको सेक्युरिटी प्रेस जर्मन कम्पनीले भने करिब ४० अर्बमा बनाउन लागेको थियो । ३७ अर्ब रुपैयाँ सेक्युरिटी प्रेसको सामान तथा सुरक्षा उपाय र करिब ३ अर्ब रुपैयाँ बिल्डिङका लागि खर्च गर्ने भनिएको थियो ।

आफूले ठेक्का नपाउने स्थिति आएपछि मिश्रले उक्त अडियो बुधबार साँझ विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराएका थिए ।

मिश्रले उक्त रकम घुस नभएर कमिशन भएको र त्यो नियमसंगत तरिकाबाट आउने भन्दै कुल ७४ करोड कमिशनको ७० प्रतिशत मन्त्री बाँस्कोटा र ३० प्रतिशत आफूहरुले पाउने गरी काम गर्न लागिएको बताए ।

उनले भने, ‘मन्त्रीलाई त्यति रकमले पनि नपुगेपछि अर्को कम्पनी खोज्न थालियो । र, जर्मन कम्पनीले ४० अर्बको १२ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड रकम कमिशन खान खोजेपछि हामीले उक्त कुराकानी बाहिर ल्याएका हौँ ।’

मिश्रले अगाडि भने, ‘आज हामीले यो अडियो बाहिर नल्याएको भए आजै लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुँदै थियो । लेखा समितिका मान्छेहरुले पनि कमिशन खाने गरी सेटिङ गरिसकेका थिए । त्यसकारण हामीले उक्त अडियो बाहिर ल्याएर भ्रष्टाचार हुनबाट रोक्न खोजेका हौँ ।’

अब के हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘अब यो अडियो बाहिर आएपछि ठेक्का के हुन्छ त भन्न सक्दिनँ, तर मन्त्रीज्यूलाई भने महङ्गो पर्छ ।’

यस विषयमा मन्त्री बाँस्कोटासँग सम्पर्कका लागि पटक–पटक प्रयास गर्दा उनको फोन उठेन । साभार– रातोपाटी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology