गोरखा ७ ,फागुन ।
गोरखा कारागारबाट ३ जनाले कैदी बन्दीलाई आममाफी दिइएको छ । आफ्नो जिवनको ५० प्रतिशत भन्दा बढि समय कैद सजाय भोगिसकेका र असल चालचलन देखाएका कैदीहरुलाई प्रजातन्त्र दिवसको अबसरमा आज कैद मिनाहा गरिएको गोरखा कारागार शाखाका प्रमुख नबिन अधिकारीले जानकारी दिनुभयो ।
कैद मिनाहा हुनेहरुमा गोरखा नगरपालिका ११ का कृष्ण बहादुर बयलकोटी, लिखु गाबिस वडा नं ८ का बिजय भनिने नारायण गुरुङ र पालुङ्टार नगरपालिका ३ का इश्वर बहादुर कार्की रहेका छन ।
गौबोध हत्यामा तीन बर्षका लागि थुनामा रहेका कृष्ण बहादुर बयलकोटीले २ वर्ष ११ महिना १ दिनमा कैद मिनाहा पाएका छन् भने डाका सम्बन्धी मुद्धामा ६ वर्षका लागि थुनामा परेका नारायण गुरुङलाई ३ वर्ष २ महिना १३ दिन सजाय कटाएपछि आममाफी दिइएको उहाँले बताउनुभयो ।
त्यस्तै ज्यान मार्ने उद्योगमा ५ वर्षका लागि थुनामा रहेका जिल्लाको पालुङ्टार नगरपालिका ३ का इश्वर बहादुर कार्की २ वर्ष ८ महिना ३ दिनमा थुना मुक्त भएको अधिकारीले जानकारी दिनुभयो ।
देशैभरीका कैद भुक्तानीका क्रममा असल चालचलन भएका, कैदि बन्दीहरुलाई प्रजातन्त्र दिवसको बिशेष दिन पारेर छनोट गरि सरकारले कैदी बन्दीहरुको बाँकी कैद मिनाह गर्ने गरेको छ । गोरखा कारागारको क्षमता ५५ जनाको भए पनि अहिले ९६ जना कैदी बन्दीहरु रहेका छन् ।