काठमाण्डौ । नेपालस्थिति चिनियाँ दुतावासले कोरोना भाईरससंग जोडेर मंगलबार एक दैनिक पत्रिकामा प्रकाशित समाचारप्रति गम्भिर आपत्ति जनाएको छ । दुताबासले एक बिज्ञप्ती जारी गर्दै उक्त समचारमा प्रकाशित तस्बिर प्रति आफ्नो असन्तुष्टी रहेको जनाएको हो ।
मंगलबार एक अंग्रेजी दैनिक पत्रिकामा तस्विर मार्फत् पत्रिकाले नियतवस चिनियाँ सरकार र कोरोना भाइरस विरुद्धको उसको संघर्षप्रति नकारात्मक सन्देश सम्प्रेषण गरेको दूतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा भनिएको छ , ‘ उक्त फोटोमार्फत् चिनियाँ राजनीतिक प्रणालीमाथि नै आक्रमण भएको हाम्रो ठम्याइँ छ ।’
‘पत्रिकाका प्रधान–सम्पादक चीनसँग जोडिएका मुद्दाप्रति सधैं पूर्वाग्रही रहँदै आएका छन् । यस पटक उनले तथ्यको बेवास्ता गर्दै चीनविरोधी शक्तिको ‘सुगा’ बनेर सीमा नाघे,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा गम्भीर रुपमा लिएको कोरोनाभाइरस प्रकोप नियन्त्रण गर्न चिनियाँ सरकारले हरसम्भव प्रयास गरिरहेको अवस्थामा केही पश्चिमी मिडियाले महामारीलाई राजनीतिकरण गर्दै चीनको राजनीतिक प्रणालीमाथि आक्रमण गरिरहेको भनिएको छ । र, समाचार प्रकाशित गर्ने पत्रिकाका सम्पादक सोही उद्देश्यमा लागेको आरोप दूतावासको छ ।
महामारीको समयमा आम नेपाली जनता र नेपाल सरकारको सकारात्मक धारणा रहेको र त्यसप्रति आफूहरु कृतज्ञ रहेको उल्लेख गर्दै दूतावासले पत्रिकाका प्रधान–सम्पादकको आलोचना गरेको छ ।