गोरखा ६, फागुन । उर्जामन्त्री बर्षमान पुन (अनन्त) ले गोरखा र धादिङको सिमानामा बन्न लागेको बुढीगण्डकी जलासययुक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा बितरणमा मर्का परेका पाईए उचित निर्णय लिइने बताउनु भएको छ । प्रतिनिधिसभाको आजबाट शुरु भएको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको जबाफ दिनुहुदै उर्जामन्त्री पुनले यस्तो बताउनु भएको हो । मन्त्री पुनले भन्नुभयो, ‘मुआब्जा पुनरावलोकनमा उजुरी परेको र मर्का परेको भए उपयुक्त निर्णय लिइन्छ ।’
उहाँले आयोजनको डुबान क्षेत्रमा पर्ने अघिकासं जग्गाको मुआब्जा बितरण भईसकेको भन्दै थप समस्या नभएको बताउनुभयो । ‘डुबान गर्ने क्षेत्रहरुको मुआब्जा निर्धारण भइसकेका छन्, मन्त्री पुनले भन्नुभयो, अब कुनै बिबाद छैन ।’ उहाँले आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखा तर्फको करिब ८० प्रतिसत जग्गाको मुआब्जा बितरण भईसकेको र धादिङ तर्फको करिब ७० प्रतिसत जग्गाको मुआब्जा बितरणको काम सम्पन्न भएको जानकारी दिनुभयो ।
मुआब्जा निर्धारण गर्न ढिलाई भएको आरुघाट, आर्खेत खहरे, बिशालटार क्षेत्रको मुआब्जा निर्धारण गरि बितरणको काम अघि बढी सकेको भन्दै उहाँले आयोजना निर्माणको काम तत्काल अघि बढ्ने बताउनुभयो । ‘आरुघाट क्षेत्रमा केही प्राप्त गर्ने क्रममा हुनुहुन्छ, निवेदन प्राप्त भईसकेका छन्, उर्जामन्त्री पुनले भन्नुभयो, ‘त्यसैले बुढीगण्डकी जलविद्युत आयोजना र डुबान क्षेत्रको मुआब्जा निर्धारणको विवाद अब रहेन, कुनै विवाद छैन ।’
उहाँले मुआब्जा दिने क्रममा घरको रासकट्टी नगरियोस् र पुँजीगत लाभकर हटाइयोस् भन्ने प्रभावितहरुको माग अर्थमन्त्रालयमा पठाइएको समेत जानकारी दिनुभया । अर्थमन्त्री पुनले बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितहरुले गरेको गुनासो सम्बोधन हुने विश्वास समेत व्यक्त गर्नुभयो ।