Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

चीनमा उच्च ज्वरो देखिएपछि ६ जना नेपाल ल्याइएन : उद्धारा गरिएका १७५ खरिपाटी पुर्‍याइयो


1.4K
Shares

चीनमा उच्च ज्वरो देखिएपछि ६ जना नेपाल ल्याइएन : उद्धारा गरिएका १७५ खरिपाटी पुर्‍याइयो

चीनको वुहानबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको छ। बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको हो।

उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्‍याएका हुन् । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो। आवेदन दिएका एक सय ८५ मध्ये ६ जनाको स्वास्थ्यमा समस्या आएपछि उनीहरु चीनमै रोकिएका छन् भने चार जनाले नेपाल फर्कन अस्वीकार गरेका चीनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन्। चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको हो ।

उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक तापक्रमसहित अरु स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसक्रममा ६ जनामा उच्च ज्वरो देखिएपछि उतै रोकिएका हुन्। नेपाल आइपुगेका एक सय ७५ जनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर केही समस्या नदेखिएका व्यक्तिलाई मात्र भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा लगिएको सरकारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology