गोरखा २, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बुढीगण्डकी जलबिद्युत आयोजना निर्माणको काम तत्काल अघि बढ्ने बताउनु भएको छ । नेपालका प्रथम सहिद लखन थापाको १४३ औं स्मृतीसभाको अबसरमा आज गोरखाको बुङकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले मुअब्जा बितरणमा भएका समस्याको समाधान भईसकेकाले आयोजना निर्माण अघि बढ्ने बताउनुभयो ।
अध्यक्ष दाहालले डुवान क्षेत्रमा पर्ने अन्य ठाउँको मुआब्जा बितरणको काम सम्पन्न भईसकेपनि गोरखा र धादिङ तर्फ पर्ने आरुघाट र आर्खेत क्षेत्रको मुअब्जा बितरणमा प्राबिधिक कारणले ढिलाई भएको बताउनुभयो । ‘लगातार छलफल गरेर बाँकी रहेका क्षेत्रको मुआब्जा निर्धारणको काम पनि सम्पन्न गरिसक्यौ, अब बितरणको काम अघि बढीसकेको छ, उहाँले भन्नुभयो, अब आयोजना निर्माणको काम रोकिदैन ।’
बुढी गण्डकी जलबिद्युत आयोजना राष्ट्रिय गौरबको आयोजना भएकाले यसले सिंगो राष्ट्रको आर्थिक सम्बृद्धिमा महत्वपूर्ण भूमिका खेल्नसक्छ, उहाँले भन्नुभयो,‘ त्यसका लागि आयोजना छिटो निर्माण गर्न सरकारका तर्फबाट र पार्टीका तर्फबाट अहिले पनि निरन्तर छलफल र बहस भईरहेका छन् ।’ उहाँले आयोजनाबाट बिस्थापित परिवारहरुलाई पुर्नबासका लागि अन्तिम रणनीति पनि बनिरहेको जानकारी दिनुभयो ।
‘आयोजना अघि बढाउनु बित्तिकै अर्को पुर्नबासको समस्या छ, आयोजना निर्माण अघि बढेपछि मुआब्जा लिने र यहाँबाट बिस्थापित हुने घरपरिवारहरुलाई पुर्नबास गर्ने प्रक्रियाको पनि अन्तिम रणनीति बन्दैछ, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘त्यो अब अगाडी बढ्छ ।’ उहाँले आयोजना निर्माणका लागि सरकार प्रतिबद्ध रहेको भन्दै ढुक्क हुन सवैलाई आग्रह समेत गर्नुभयो ।
अध्यक्ष प्रचण्डले बिकास र सम्बृद्धिलाई तिब्रता दिन जलस्रोत, कृषि, पर्यटन लगाएका क्षेत्रको बिकासमा जोडदिनुपर्ने आबश्यकता औल्याउनु भयो । संघियता आएपछि सोचे जस्तो गति दिन सकिएकोे छैन, उहाँले भन्नुभयो,‘नयाँबाटो हिड्दा केहि अफ्ट्याराहरु आउछन्, त्यसलाई बिस्तारै समाधान गर्दै व्यवस्थित ढंगले सरकार अघि बढीरहेको छ ।’
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय बिभूती घोषणा गर्नुपक्षमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । राणाशासनका बिरुद्ध संगठित बिद्रोह गर्ने प्रथम सहिद भएको नाताले राष्ट्रिय बिभूती घोषणा गर्न मेरो तर्फबाट सकारात्मक र रचनात्मक पहल हुन्छ , अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘त्यहाँ मेरो जिम्मेवारी छ भन्ने मलाई महसुस हुन्छ ।’