काठमाडौं, २९ माघ । कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पुगेका साउदी अरबका नागरिक भागेका छन् ।
चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए ।
सामान्य चेकजाँच गर्ने क्रममा उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो । तर, निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागेका हुन् ।
‘उनको कोरोना परीक्षण गर्न बाँकी थियो, अहिले खोजी भइरहेको छ’ स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका भने, ‘भाषाको समस्या भएकाले उनलाई नियन्त्रणमा राख्न सकिएन ।’
अस्पतालमा बुधबारमात्रै कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई टेकु अस्पताल भर्ना गरिएको छ । चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार उनीहरु तीन जनामा कोरोना भाइरसको संक्रमण छ वा छैन भनेर टेकुकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि नमुना पठाइएको छ । उनले भने, ‘अहिले उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।’