सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– ३ मा एक हप्ता भित्रमै ८४ जना बिरामी परेका छन् । साविक गुम्बा गाविस वडा नम्बर ८ वस्तीमा रुघाखोकी र ज्वरोका कारण उनिहरु बिरामी परेका हुन् । गाउँमा अत्यधिक ज्वरोले बिरामी पर्न थालेपछि कोरोना भाइरसको आशंका गरिएको छ ।
माघ २३ गतेबाट टाउको दुख्ने, ज्वरो आउने र रुघाखोकीको लक्षणका कारण हिजोसम्म बिरामी हुनेको संख्या ८४ पुगेको गाउपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागार्इंका अनुसार कोरोना जस्तो लक्षण मात्र भएकोले शंका गर्ने आधार नरहेको बताउनुभयो ।
जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मी, औषधि र माक्स खरिद गरी पठाईसकेको चापागार्इंले बताउनुभयो । कोरोना जस्तै लक्षण भएपनि यहाँका मानिसको चिनसँग जोडिएका नाकाबाट आवतजावत अहिले बन्द भएकाले कोरोना नै हो भन्ने आधार नरहेको उहाँको भनाइ छ । बिरामी परेका ८४ जनाको अवस्था भने सामान्य रहेको छ ।
गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले आफुहरु विषय विज्ञसँग नियमित संवादमा रहेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोध सहित पत्र पठाएको उल्लेख गर्नुभयो ।