एजेन्सी २८, माघ । गत जनवरीमा इराकमा रहेको आफ्नो सैन्य बेसमा इरानले गरेको मिसाइल हमलामा घाइते भएका सैनिकको संख्या १ सय ९ पुगेको अमेरिकी अधिकारीहरुले स्वीकार गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुमा सो हमलामा कोही पनि अमेरिकी सैनिक घाइते नभएको बताउनु भएको थियो। तर, पछि पेन्टागनले उक्त हवाइ हमलामा ६४ जना घाइते भएको बताएको थियो । अहिले सो सङ्ख्या बढेर १ सय ९ जना पुगेको हो ।
अमेरिकाले इरानी सैन्य कमान्डरको हत्या गरेपछि जनवरी ८ मा इराकमा रहेका दुई अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण भएको थियो ।
अमेरिकी अधिकारीहरुका अनुसार सो हमलामा १ सय ९ जना सैनिक ट्रमाटिक ब्रेन इन्जुरी (टीबीआई) का शिकार बनेका हुन् । पेन्टागनले घाइतेमध्ये ७० प्रतिशत सैनिक पुनः सेवामा फर्किसकेको जनाएको छ ।