काठमाडौँ – त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन निर्धारित मितिमा नहुने भएको छ ।
निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले समेत आवश्यक तयारी पूरा गर्न नसकेको जनाएपछि पूर्वनिर्धारित कार्यतालिकामा निर्वाचनको सम्भावना टरेको हो।
यस बीचमा विश्वविद्यालयले निर्वाचन तयारीका विषयमा मातहत क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यार्थी सङ्गठनसँग छलफल गरे पनि निर्वाचनका लागि वातावरण बन्न सकेन। नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले रिक्त पदाधिकारी नियुक्ति गरेर अगाडि बढ्न विद्यार्थी सङ्गठनले माग गरेको बताउनुभयो ।
अनेरास्ववियुका संयोजक ऐन महरले पनि सबै क्याम्पसमा निर्वाचन हुने तर पूर्व निर्धारित कार्यतालिका भने झण्डै एक महिना पर सर्ने अवस्था रहेको बताउनुभयो ।
निर्वाचन अब कहिले हुने भन्ने एकिन नभएपनि झण्डै एक महिना पछाडि सर्ने भएको बताइएको छ ।