काठमाण्डौ, २७ माघ । नेपाल प्रहरीले आफूलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका रामबहादुर बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । हत्या र बलात्कारको आरोप उनीमाथि लागेको छ । बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका प्रवक्ता एवम डिआईजी शैलेश थापाले जानकारी दिनुभयो ।
जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट गत बिहीबार पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भोलिपल्टै बम्जनलाई पक्राउ गर्न उनकै आश्रम सिन्धुली पुगेको थियो । करिब चार घण्टा खोजी गरे पनि बम्जन फेला नपरेपछि प्रहरीले शंकास्पद अन्य आश्रममा पनि खोजी जारी रहेको जनाएको छ ।