काठमाण्डौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पहिलो जित दर्ता गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको हो । नेपालले दिएको १ सय ९१ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रनमा समेटियो ।
नेपालका करण केसीले ४ विकेट लिनुभयो । यस्तै सुशन भारीले ३ विकेट लिंदा सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिनुभयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारी र डेब्यु खेलाडी कुशल मल्लले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
विनोदले ५९ रन बनाउँदा कुशल मल्लले डेब्यु खेलमै ५० रन बनाउनुभयो । कुशलले डेब्यु खेलमै अर्धशतक बनाएर विश्व कीर्तिमान समेत बनाउनुभएको छ । उहाँ कम उमेरमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । कुशलले १५ वर्ष ३ सय ४० दिनमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाउनुभएको हो ।
यसअघि सो कीर्तिमान नेपालकै रोहित कुमार पौडेलको नाममा थियो । पौडेलले १६ वर्ष १ सय ४६ दिनको उमेरको कीर्तिमान बनाउनुभएको थियो । जितसँगै लिगमा नेपालले २ खेलमा २ अंक जोडेको छ । अब नेपालले भोलि ओमानसँग खेल्नेछ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।