Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अख्तियारको निर्णय बिरुद्ध संसद् अवरुद्ध पार्नु लोकतान्त्रिक मान्यता विपरीत : प्रवक्ता श्रेष्ठ


3.3K
Shares

अख्तियारको निर्णय बिरुद्ध संसद् अवरुद्ध पार्नु लोकतान्त्रिक मान्यता विपरीत : प्रवक्ता श्रेष्ठ

गोरखा, माघ २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयविरुद्ध नेपाली काँग्रेसले संसद् नै अवरुद्ध गर्नु लोकतान्त्रिक मान्यताविपरीत रहेको बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अख्तियारले गर्ने निर्णयमा सरकारको कुनै हस्तक्षेप नहुने बताउनुभयो ।

“अख्तियारले के निर्णय गर्छ भन्ने कुरा सरकारले बताउने कुरा होइन”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सरकारले निर्देशन दिएर अख्तियार चल्दैन भन्ने कुरा काँग्रेसले बुझ्नुपर्छ ।” उहाँले ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णयबिना कुनै पूर्वाग्रह गरेको होला भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

प्रवक्ता श्रेष्ठले लोकतन्त्रका निम्ति तपस्या गर्ने र लोकतन्त्रका लागि सङ्र्घष गर्ने नेपाली काँग्रेस जस्तो पार्टीले अख्तियार संवैधानिक निकाय हो भन्ने जान्दाजान्दै नजाने जस्तो गरेको आरोप लगाउनुभयो । “सरकारले अख्तियारको काम कारवाहीमाथि दबाब दिनु हँुदैन भन्ने राम्रोसँग बुझेको छ”, उहाँले भन्नुभयो, “ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णय उसको स्वतन्त्र निर्णय हो ।”

सो प्रकरणमा अख्तियारले अझै थप निष्कर्ष निकाल्नु छ भने निकालोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको उहाँले बताउनुभयो । प्रवक्ता श्रेष्ठले कुनै पनि संवैधानिक निकायमाथि सरकारले कुनै खालको हस्तक्षेप नगर्ने उल्लेख गर्नुभयो । काँग्रेसले अख्तियारको विरुद्ध आन्दोलन नभई थप अनुसन्धानमूलक बनाउन सघाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अर्को फरक प्रसङ्गमा उहाँले देशैभरि सञ्चालित अवैधानिक क्रसरहरु बन्द गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । “क्रसरहरुले पैदा गरेको समस्याका विषयमा सरकारले अध्ययन गरिरहेको छ”, उहाँले भन्नुभयो, “अहिले गृहमन्त्रीको संयोजकत्वमा सम्बन्धित मन्त्रालयको समेतको प्रतिनिधित्व रहेको छानबिन समिति गठन गरेर काम भइरहेको छ ।”रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology