काठमाण्डौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा विभिन्न विधेयकहरू पेश हुनेछ । हिजो काँग्रेसको अवरोधका कारण बैठक सञ्चालन हुन नसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार एक बजे बस्नेगरी बैठक स्थगित गर्नुभएको थियो । ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले विभेदपूर्ण व्यवहार गरेको भन्दै काँग्रेसले बैठक अवरुद्ध गरेको थियो ।
बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर काँग्रेस सचेतक पुष्पा भुसालले तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र सचिवलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको तर केही राजनीतिक र प्रशासनिक नेतृत्वलाई बचाइएको टिप्पणी गर्नुभएको थियो । सभामुख सापाकोटाले काँग्रेसका तर्फबाट आएको धारणातर्फ सम्बन्धित निकायको ध्यान गएको होला भन्दै संसद्ले धेरै विधेयक अगाडि बढाउनुपर्ने भएकाले बसिदिन र सदन सञ्चालनका लागि सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि अवरोध नहटेपछि बैठक स्थगित भएको हो ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजको बैठकमा “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रमाण (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुने छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले “बिउ बिजन (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुने कार्यक्रम छ । यस्तै, गृहमन्त्री रामबहादुर थापाले “कारागार विधेयक २०७६” पेश गर्नुहुने कार्यसूची तय गरिएको छ ।
कृषि तथा पशुपञ्छी विकास मन्त्री घनश्याम भुसालले “पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६” प्रस्तुत गर्नुहुनेछ । यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले आजको राष्ट्रिय सभाको बैठकमा उत्पन्न भएको “संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६” माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ्गले राष्ट्रियसभामा उत्पन्न भएको “नेपाल इन्जिनियरिङ्ग परिषद (पहिलो संशोधन) विधेयक, २०७६” माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।