बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ जोरुमा भाइलर ज्वरोका कारण एक जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण ५५ वर्षका मिमा कडाराको मृत्यु भएको साप्पाटा स्वास्थ्य चौकीका इञ्चार्ज विर्ज विकले बताउनुभयो ।
कडाराको मंगलबार साँझ मृत्यु भएको र उनको घरका अन्य पाँच जना बिरामी भएको पनि स्वास्थ्यकर्मी विकले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्बर एकका विभिन्न स्थानमा सिजनल फ्लू भनिएको भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी भएका छन् ।
सिङ्गो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ । एक साता यता बिरामीको संख्यामा बृद्धि हँुदै गएको भन्दै स्वास्थ्यकर्मी विकले स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि र जनशक्ति नहुँदा समस्या हुन थालेको बताउनुभयो ।
स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य साखा संयोजक भक्तबहादुर कैलाले स्टकमा रहेको औषधि सहित भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिने जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीहरुले भाइलर ज्वरो अन्य ठाउँमा पनि फैलन सक्ने भएकाले सुरक्षाका उपाय अपनाउन र स्वास्थ्यमा हेरचाह तथा चिसो तातोमा ख्याल गर्न सुझाव दिएका छन् ।