अछाम – पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै बुधबार बिहानैदेखि विनायक बजार बन्द गरिएको छ ।
मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा चक्काजाम गरेका छन् । पसलहरु पनि बन्द छन् । आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
पञ्चदेवल बजारमा बिहानैदेखि टायर बालिएका छन् । सवारी आवगमन पनि बन्द गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी को हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझ्न मानेका छैनन् ।
मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको गोठमा उहाँको शव भेटिएको थियो ।