काठमाण्डौ, १२ माघ । हुम्लामा मौसमी रुघाखोकीका कारण ५ जनाको मृत्यु भएको छ । गत पुस २७ देखि माघ १० गतेसम्मसम्म जिल्लाको चंखेली र सर्केगाड गाउँपालिकामा मौसमी रुघाखोकी कै कारण ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हनेमा सर्केगाड–३ उनापानीका ५५ वर्षका रंगमल फडेरा रहेको वडाअध्यक्ष गजबहदुर रावतले जानकारी दिनुभयो । चंखेली–६ मेल्छामको मासिधाराका ३९ वर्षका जुनकला शाही, ६० वर्षका प्याउली शाही, ६५ वर्षका गौरीकला सार्की र ७० वर्षका जसुराम सार्कीको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष विमला शाहीले बताउनुभयो ।
उपाध्यक्ष शाहीका अनुसार चिसोका कारण मौसमी रुघाखोकीले दम तथा अन्य दीर्घ रोग भएका बढी समस्यामा छन् । उहाँले मौसमी रुघाखोकी लागेका बिरामीहरुलाई रुघाखोकी, ज्वरो आउने र बेहोस भएर मृत्यु हुने लक्षण देखिएको उल्लेख गर्दै उनापानी गाउँमा गाउँपालिकाबाट दिएको औषधिसमेत सकिएको बताउनुभयो ।
गाउँभरि वृद्धवृद्धा, बालबालिका गरी ६० जना बिरामी परेका छन् । समयमा यसको उपचार गर्न नसके यसले झन् ठूलो रुप लिने भएकाले समयमै उपचारमा सहयोग गरिदिन स्थानीयबासीको आग्रह छ । जिल्ला अस्पतालका अनुसार अहिले दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् ।
बिरामीको संख्या बढ्ने हो भने उपचारका लागि औषधि र पूर्वाधारको समस्या देखिने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।