जनकपुरधाम । अवैध बालुवा गिट्टी उत्खनन रोक्न पुगेका धनुषाका मिथिला नगरपालिका ५ श्रीपुर निवासी ओमप्रकाश भन्ने दिलिपकुमार महतोलाई टिपरबाट किचेर हत्या गराएको आरोपमा उद्योगी विपिन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
ढल्केवर स्थित चुरियामाई बालुवा गिट्टी प्रशोधन केन्द्रका संचालक विपिन महतोलाई शनिबार करीब बिहान १० बजे जनकपुरधाम १ भानु चोकबाट पक्राउ गरेको हो । शुक्रबार एकाबिहानै ४ बजेको समयमा औरही खोलामा बालुवा गिट्टीको अवैध उत्खनन रोक्न पुगेका ओमप्रकाशको ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गराइएको थियो ।
मृतकका आफन्तजन र स्थानीयको आरोपमा धनुषा प्रहरीले फरार रहेका विपिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटना लगतै प्रहरीले टिपर नियन्त्रणमा लिएको थियो भने शनिबार दिउंसो करीब १ बजेतिर नै टिपर चालक मुनिन्द्र महतोलाई पक्राउ गरिसकेको थियो । घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले दोषीमाथि तत्काल कारवाहीको मांग गर्दै पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए ।
अवस्था तनावग्रस्त भएपछि प्रहरीले लाठी चार्ज र दर्जनौं राउण्ड आश्रुग्यास समेत प्रहार गर्नु परेको थियो । स्थानीयको प्रदर्शनले शुक्रवार दिउँसो ३ बजेसम्म यातायात अवरुद्ध रहेको थियो ।